काठमाडाैँ । नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई विकासमा खर्च बढाउन आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा लाग्नुपर्नेमा जोड दिएको हो ।
परिसङ्घका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिनुहुँदै यस क्षेत्रमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिएका छन् । उनले सङ्कटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनु पर्ने स्पष्ट कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई पेस गरेका छन् ।
परिसङ्घले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसङ्घको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गदै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याको समाधान गर्दै अगाडि बढ्ने बताए । “जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रिया अगाडि बढ्नेछौँ”, उनकाे भनाइ छ ।
Add Comment