काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिने जोसुकै व्यक्तिलाई पनि न्यायको कठघरामा उभ्याउन सरकार चुक्न नहुने नागरिक अगुवाहरूको माग छ।
अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस प्रकरणमा ध्यानाकर्षण भएको जनाएका छन्। यस प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि मुद्दा नचलाउने समाचारले आक्रोस बढाएको बताएका छन्।
उनीहरूले भनेका छन्, ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झै यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोस बढाएको छ। यसमा गम्भीर आपत्ति छ।’
नागरिकको आक्रोस ध्यानमा राखेर यसमा संलग्न सबैलाई कारबाहीको प्रक्रियामा ल्याउन उनीहरूले माग गरेका छन्। नागरिक अगुवाहरूले भनेका छन्, ‘प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकै किन नहुन, तिनलाई न्यायको कठघरामा उभ्याउन सरकार नचुकोस् भन्ने हाम्रो माग छ।’
कसैलाई जोगाउने गरी मुद्दा दायर भएमा नागरिक आक्रोसले दुर्घटना निम्त्याउने सक्नेतर्फ पनि उनीहरूले सचेत गराएका छन्। ‘अन्यथा, आम नागरिकको आक्रोसका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,’ उनीहरूले भनेका छन्।


