काठमाडौं । पशुपतिनाथको गजुरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषय शुक्रबार संसदमा प्रवेश गरेसँगै संसदमा हंगामा मच्चिएको छ । जसका कारण आज एमालेले संसद नै अवरोध गर्यो ।
यो बिषयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विषय उठाउनुअघि नै महालेखाले प्रश्न उठाएको छ । महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।
‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू.८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।
‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।
Add Comment