पानीको सय रुपियाँ लिने पोखराको चिनियाँ रेष्टुरेन्टलाई दुई लाख जरिवाना

लेखनाथ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि प्रशासनले बुधबार द बल्ड लानलाई दुई लाख रुपियाँ जरिवाना गरेको हो ।

अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

यो कसूर गरे वा गराएमा दुई लाखदेखि तीन लाख जरिवाना गर्न सक्ने प्रावधान छ । यो रेष्टुरेन्टले एक बोतल प्रशोधित पानीलाई एक सय रुपियाँमा बिक्री गरेको बिलसहित उजुरी परेको थियो ।

उजुरीपछि छानबिन गर्दा बढी मूल्य लिएको पाइएपछि कारवाही स्वरुप जरिवाना गर्दै कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामाग्री बिक्री नगर्न निर्देशनसमेत दिइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । उहाँले प्रचलित ऐन, कानुन पालना गर्दै व्यापार, व्यवसाय गर्न र उपभोक्ताको हितलाई ख्याल गर्नसमेत आग्रह गर्नुभएको छ ।

कास्की प्रशासनले शनिबार पोखराको चिप्लेढुंगाको मारवाडी सेवा भोजनालयलाई खाजाको प्याकेटमा मूल्य अनुसार कम परिमाण रहेको पाइएपछि दुई लाख जरिवाना गरेको थियो ।