किन घटे बर्षको एक पटक खुल्ने तलेजु भवानीमा दर्शनार्थी

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नंं २४ हनुमानढोका दरबार क्षेत्रमामा पर्ने तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीका दिन मात्र सर्वसाधारणले दर्शन गर्नका लागि खुला गरिन्छ । त्यही भएर विगतका वर्षहरुमा सो मन्दिरमा निकै नै भिड लाग्ने गर्दथ्यो । तर यस वर्ष पनि मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुको संख्या निकै नै घटेको छ ।

अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका सो मन्दिरमा यस वर्ष निकै नै कम भक्तजनहरु दर्शनका लागि आएको सोही वडाका वडाअध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए । वडा अध्यक्ष राजभण्डारीका अनुसार यसपटक तिथी फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो यस पटक मखन टोलसम्म पनि छैनन् ।

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ ।
वर्षभरि नित्य पूजा हुने गरेको भएपनि वडा दशैंको नवमीका दिन एक दिन मात्र तलेजु भवानीको मन्दिर सर्वसाधारणका खुल्ला गर्ने चलन छ ।