प्रधानमन्त्री ओलीलाई अविश्वासन गर्न नहुने देउवाको भनाई

काठमाडौं । नेपालको संविधान विश्वकै उत्कृष्ट भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी गरेका छन् । काँग्रेसका ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउावाले सो कुरा बताएका हुन् । देउवाले मुलुकको स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिल्नुपरेको समेत बताए ।
संविधानको प्रयोगमा आएका केही कठिनाइ सम्बोधन गर्न संविधानको संशोधन आवश्यक रहेको भन्दै सभापति देउवाले त्यसका निम्ति एमालेसँग सहमति भइसकेको र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको उनको भनाई थियो ।

सभापति देउवाले वर्तमान संविधानमा राखिएको संघीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकार समेटेको उल्लेख गरे ।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा भएको अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब २ सय जनाले भाग लिएका छन् ।