काठमाडौँ । अरुको आशमा बाँच्ने मानिस सँधै भोको पर्छ भन्ने नेपाली उक्ति यतिखेर नेपालमा अमेरिकन सहयोग नियोगको रकममा संस्था चलाउनेहरु परेका छन् । युएसआईडी नामक अमेरिकन सहयोग रोकिए पछि धेरैको रुवावासी नै चलेको छ । राजनीति, एनजिओ चलाउनेदेखि कृषिमा पनि यसले प्रभाव पारेको छ । सो नियोगले आफ्नो मिसनका लागि बालुवामा पानी छरे जस्तै रकम अनुदान वा अन्य किसिमले सहयोग गर्दै हरेक क्षेत्रमा जस्तै कृषिमा पनि गर्दै आईरहेको थियो ।
त्यस्तै सहयोगको भरपर्दा, ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आयोजना हुन लागेको छैठौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८१ स्थगित भएको छ । नेपाल सरकारको मात्र होइन अमेरिकन सरकारको समेत रकममा भर परेको सो प्रर्दशनी स्थगित भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले अर्काको भर पर्दा यो अवस्था आएको हो ।
अमेरिकी सरकारले नेपाललाई दिँदै आएको आर्थिक सहयोग ९० दिनका लागि स्थगित गरेपछि यो प्रदर्शनी आयोजना गर्न असम्भव भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार यूएसआईडी मार्फत नेपाललाई दिइने अनुदान रकम रोकिएकोले यस प्रदर्शनीका लागि आवश्यक आर्थिक सहयोग पनि प्रभावित भएको हो । हुन त नेपाल कृषि मेशिनरी व्यवसायी संघमा आवद्ध सदस्यहरु कमजोर भने होइन । आफैले पनि यस्तो प्रर्दशनी गर्न सक्छन् तर उनीहरुले अमेरिकन सहयोग नपाएपछि हरेक वर्ष हुने गरेको प्रर्दशन रोकेका छन् । यसले संघ अरुको भर पर्छ भन्ने पुष्टि गरिदिएको छ ।
अमेरिक सहयोग नियोगले प्रशस्त आर्थिक सहयोग गरेपनि आफ्नो लोगो राख्न भने दिँदैन । बरु नेपाल सरकारहरुको लोगो राखेर कार्यक्रम गर्न प्रोत्साहित गर्छ । यसको प्रमुख कारण भनेको अमेरिकन सहयोग कसैले पनि थाहा नपाओस् र अमेरिका कुन कुन क्षेत्रमा छ भन्ने कुरा गोप्य होस् । जुन प्रर्दशनीको प्रचार सामग्रीले पनि पुष्टि गरिदिएको छ ।
Add Comment