काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग टेलिफोन संवाद गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि थप पहल गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत जोशीलाई शीघ्र मुक्त गराउने प्रक्रियामा इजिप्टले सक्दो भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन्। जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा निरन्तर प्रयास गरिरहेको आश्वासन दिए।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा अपहरणमा परेका जोशीको नाम इजरायल-हमास बन्दी आदानप्रदानको दोस्रो चरणको सूचीमा प्राथमिकताका साथ राख्ने प्रयास भइरहेको प्रधानमन्त्री ओलीले बताए। साथै, उनले यस प्रक्रियामा इजिप्टले गरेको पहलप्रति आभार व्यक्त गरे।
युद्धविराम सम्झौतामा नेपालको समर्थन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्ति स्थापनाका लागि इजिप्ट, कतार र अमेरिका सरकारको भूमिकालाई प्रशंसा गरे।
यसै अवसरमा प्रधानमन्त्री ओलीले आउँदो जेठ २-४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा राष्ट्रपति खालिललाई सहभागी हुन निमन्त्रणा गरे। जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउँदै उनले इजिप्टलाई पनि नेपालसँग सहकार्य गर्न आग्रह गरे।
संयुक्त राष्ट्रसंघका मञ्चहरूमा उम्मेदवारी, आपसी सहकार्य, उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सम्बन्ध विस्तारका विविध विषयमा समेत दुवै नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Add Comment