काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा मौसमी प्रणाली सक्रिय रहँदा पूर्वतर्फ सर्ने क्रममा रहेको छ।
काठमाडौं उपत्यकामा गड्याङ्गुडुङसहित पानी परिरहेको छ। मौसमविद् गोविन्द झाले जानकारी दिएअनुसार ती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
केही दिनदेखि निरन्तर बदली हुँदै आएको मौसमका कारण आज हवाई उडानसमेत प्रभावित भएको छ। मौसमविद्हरूका अनुसार आगामी दिनमा पनि मौसममा परिवर्तन हुने सम्भावना रहेको छ।


Add Comment