इस्लामाबाद । बलुच लिबरेशन आर्मी (बीएलए) ले मंगलबार दिउँसो बलुचिस्तानको बोलान जिल्लाको माशकाफ क्षेत्रमा जाफर एक्सप्रेसमा आक्रमण गरी २१४ यात्रुलाई बन्धक बनाएको घटना पाकिस्तानमा ठूलो सुरक्षा संकटका रूपमा देखा परेको छ।
पाकिस्तानी सुरक्षाबलले बुधबार राति ९:३० बजे सबै ३३ विद्रोहीलाई मारेर अपहरणको संकट अन्त्य भएको दाबी गरेको छ। तर, यो कारबाहीमा केही बन्धकको पनि मृत्यु भएको पुष्टि गरिएको छ।
बीएलएको दाबी: १०० भन्दा बढी पाकिस्तानी सैनिक मारिए
उता, बलुच लिबरेशन आर्मीले भने पाकिस्तानको यो दाबी अस्वीकार गर्दै बुधबार मात्रै ६० पाकिस्तानी सैनिक मारिएको तथा मंगलबार थप ४० सैनिकको हत्या गरिएको दाबी गरेको छ। उनका अनुसार हालसम्म १०० भन्दा बढी पाकिस्तानी सैनिक मारिएका छन्।
बीएलएले चेतावनी दिएको छ कि “यदि पाकिस्तान सरकारले २० घण्टाभित्र जेलमा रहेका बलुच कार्यकर्ता, राजनीतिक कैदीहरू, तथा बेपत्ता पारिएका व्यक्तिहरूलाई नछोडे, बाँकी १५० बन्धकको हत्या गरिनेछ।”
पाकिस्तानी सेनाले अपहरणपछि तुरुन्तै उद्धार अभियान सुरू गर्दै लडाकुहरूमाथि ड्रोन र हेलिकप्टरबाट आक्रमण गरेको थियो। पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले भने, “निर्दोष यात्रुहरूमाथि गोली चलाउने यी जनावरहरूसँग कुनै सम्झौता गरिँदैन।”
यस घटनाका प्रमुख बुँदा निम्न छन्:
१.बीएलएले मंगलबार दिउँसो १ बजे जाफर एक्सप्रेसमा आक्रमण गरी ४५० यात्रुलाई बन्धक बनायो।
२.बीएलएले जेलमा रहेका बलुच राजनीतिक कार्यकर्ता तथा लडाकुहरूको बिना सर्त रिहाइको माग गर्दै ४८ घण्टाको अल्टिमेटम दियो।
३.पाकिस्तानी सेनाले सुरक्षाकर्मीहरू र विशेष फौज परिचालन गरी उद्धार अभियान चलायो।
४.आक्रमणकारीहरू आत्मघाती विस्फोटकयुक्त ज्याकेट लगाएका कारण उद्धार कठिन भइरहेको सेनाले जनाएको छ।
५. पाकिस्तानी सरकारले २०० ताबूत बलुचिस्तान पठाएको छ, जसलाई आकस्मिक अवस्थाको तयारी भनिएको छ।
६.बीएलएको दाबीअनुसार हालसम्म १०० भन्दा बढी पाकिस्तानी सैनिक मारिएका छन्।
७.पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आक्रमणमा मारिएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै, “हाम्रो सेनाले कैयौँ आतंककारीहरूलाई नरकमा पठाएको छ,” भनेका छन्।
८.सेनाले १५० बन्धकको उद्धार भएको दाबी गर्यो तर, केही यात्रुहरू मारिएको पुष्टि भयो।
स्थिति अझै तनावग्रस्त
यद्यपि पाकिस्तानले सबै विद्रोही मारिएको दाबी गरे पनि, बीएलएले अझै केही बन्धक आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। यस घटनाले बलुचिस्तानमा पुनः हिंसात्मक द्वन्द्व चर्किन सक्ने सङ्केत देखिएको छ। पाकिस्तानको सेनाले भने बलुच अलगाववादी आन्दोलनलाई दमन गर्न थप कारबाही गर्ने बताएको छ। साभार दैनिक भास्कर


Add Comment