ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुन महिनामा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले मासिक रूपमा भक्तजनद्वारा चढाइएको भेटी सार्वजनिक गर्ने प्रतिबद्धताअनुसार यो विवरण सार्वजनिक गरेको हो।
समितिका अनुसार फागुन महिनामा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या सात हजार चार सय २८ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो। गत वर्षको फागुन महिनामा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए, जसले गर्दा सोही अवधिमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी सङ्कलन भएको थियो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यस वर्ष भक्तजनको सङ्ख्या घट्नुको प्रमुख कारण हाल चर्चामा रहेको केबलकार निर्माणसम्बन्धी विवाद रहेको छ। केबलकारसम्बन्धी उत्पन्न विवाद र त्यसले निम्त्याएको बन्दका कारण दर्शनार्थीको सङ्ख्या घटेको उनले बताए।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाथीभरा मन्दिरमा विशेषगरी चैतेदसैँ, रामनवमी, बडादसैँ, तिहारलगायत चाडपर्वमा ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन्। स्वदेशी तथा विदेशी गरी वार्षिक तीन लाख हाराहारी भक्तजन मन्दिरमा आउने गरेको समितिले जनाएको छ।
Add Comment