काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको आरोपमामा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यहाँ हालसम्म पनि सञ्चालनमा नरहेको, त्यही क्षेत्रका साविक वडामा श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण सङ्कलनबाट उक्त विद्यालय काल्पनिक रहेको प्रमाणित भएको छ ।
सोही काल्पनिक विद्यालयको नाममा उपभोक्ता समिति गठन गरी निर्माण खर्च देखाएर तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी योजना लागू गरेको आयोगको दाबी छ।


Add Comment