काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन (१२ मोटरसाइकल र ८ स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रमका क्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ती सवारीसाधन सम्बन्धित धनीलाई बुझाएका हुन्।
सवारी चोरीको उजुरीपछि ट्राफिक प्रहरीले काठमाडौंका नरेफाँट, चाबहिल, मालिगाउँ, कालिमाटी, बसुन्धरा, थली, अनामनगर, नेपालटार, मिलनचोक लगायतका स्थानबाट ती सवारी साधन फेला पारेको थियो। कतिपय सवारीसाधन वास्तविक नम्बर प्लेटमा र कतिपय नक्कली नम्बर प्लेटसहित फेला परेको प्रहरीले जनाएको छ।
गत साउन महिनादेखि हालसम्म ट्राफिक प्रहरीले कुल ४८० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। यसबीचमा चोरीमा संलग्न ७४ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ।
सवारी चोरी तथा हराउनबाट रोक्न ट्राफिक प्रहरीले सवारी पार्किङ गर्दा ह्वील लक, चेन लक, डिस्क लक, सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न सुझाव दिएको छ। साथै एकान्त स्थानमा पार्क नगर्न समेत अनुरोध गरिएको छ।
सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था रहेको ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।


Add Comment