देउवा पत्नी र सूर्यबहादुरका नाती पनि पासपोर्ट काण्डको छानविनमा

काठमाडौं । पासपोर्ट छपाई काण्ठमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परी चार दिन थुनामा राख्ने आदेश दिएसँगै सोही काण्डमा मुछिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र सूर्यबहादुर थापाका नाती सिद्धार्थ थापा पनि छानविनको दायरामा परेका छन् ।
इ–पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा र ठेकेदार कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा पनि छानबिनको दायरामा परेका हुन् । थापा प्याकेज २ अन्तर्गत राहदानी छपाइको मूल ठेक्का पाउने जर्मन कम्पनी भेरिडास नेपालका प्रतिनिधि हुन् ।
प्याकेज १ को ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसले पाएको थियो । तत्कालीन सत्तारूढ दलहरू कांग्रेस र एमालेले ठेक्कामा भागबन्डा गरेका थिए । मूल ठेक्का पाउने भेरिडासका नेपाल प्रतिनिधि सिद्धार्थ कांग्रेस सांसद सुनील थापाका तथा पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका नाती हुन् । ठेक्का दिने समयमा सुनील राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार थिए । उनको तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवालगायतसँग निकटता थियो । आरजुका छोरा जयवीर यसमा अप्रत्यक्ष रूपमा संलग्न रहेको स्रोतको दाबी छ । पहुँचकै आधारमा ६ अर्ब ११ करोड रुपैयाँको ठेक्का हत्याइएको थियो । ठेक्का दिँदा सार्वजनिक खरिद नियमावलीसमेत मिचिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले समेत प्रत्यक्ष चासो देखिएको अख्तियारका अधिकारीहरू बताउँछन् ।