काठमाडौं । आपतकालमा मनलाग्दी भाडा असुल्ने व्यवसायी पक्राउ पर्न थालेका छन् । याेसँगै प्रहरीलाई कारबाही गर्नै हम्मेहम्मे हुन थालेकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ। ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको ईकालाेपाटी संवाददातालाई जनाएकाे छ ।
वैदेशिक रोजगारीबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यकाबाहिर जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ। निषेध आदेश घोषणापछि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएकोछ । तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

