काठमाडौँ । भोजपुरमा सानाठूला कच्चि सडक जोडिएको १५ वर्ष जति भयो। गाउँमा सडक खन्ने क्रमले निकै तिव्रता पायो। कच्चि सडक आउनुअघि अधिकांश ग्रामीण भेगका मानिस भरिया लगाएरै सदरमुकाम, धरान, विराटनगरबाट दैनिक उपभोग्य सामानहरू गाउँगाउँ पुर्याइन्थ्यो। भरिया पेशा एक मात्र सामान ओसारपसारको विकल्प थियो। त्यतिबेला भरिया पेशा भरियाहरूका लागि उत्तम र एकमात्र जिविकोपार्जनको माध्यम थियो। तर, सडक सञ्जालको क्रमिक विकास र बढ्दो सहरीकरणले अहिले भरिया पेशा लोप हुँदै गइरहेको छ।
सडक आउनुअघि भोजपुर विमानस्थलबाट पनि मानिस भरिया लगाएर सामानहरू सदरमुकालगायत गाउँगाउँ लैजाने गर्थे। तर, हिजोआज यो पेशाको नामनिशाना भेटिँदैन। मुख्य तथा शाखा सडकहरू कालोपत्रे बनेसँगै यात्रु र सामानहरू सहजै घरघर पुग्छन्। भरियाहरू विमानस्थलदेखि सदरमुकामसम्म सामान ल्याएको एक सयदेखि पाँच सयसम्म ज्याला लिन्थे। अहिले यो पेशा पूर्णरुपले लोप भएको स्थानीय सुरविन मिजार बताउँछन्।
‘सडकीकरण र सहरीकरणले भरिया पेशा लोप भयो, भरिया पेशा गर्ने यहाँका मानिस हिजोआज मजदुरी गर्छन्’ उनले भने, ‘पहिले जस्तो भरिया पेशा अहिले छैन, गाउँगाउँमा सडक पुगेको छ, सहज भएको छ।,’ केही वर्षयता सडक र यातायातका सवारीसाधनको सुलभताले भरिया पेशा लोप हुँदै गएको हो।
दक्षिणी हतुवागढी गाउँपालिका–१, रानीबासका ५० वर्षीय काजीमान राई १२ वर्षअघि डोको, नाम्लो, खकन र तक्मा बोकेर सदरमुकाम, धरान, चतरा, धनकुटा, खाँदबारी, सोलुखुम्बुसम्म धाउने गर्थे। तराइसँग सडकको पहुँच नपुगुन्जेलसम्म साहुको भारी बोकेर परिवारको जीविका चलाउँथे। त्यो बेला उनी सामान बोकेरै ७ जनाको परिवार धान्थे।
दक्षिण अक्करको भीर, सप्तकोशी हँुदै चामल, नुन, तेल, चिउरा जस्ता खाद्यान्न र लत्ताकपडाको भारी बोकेर गाँउबस्तीका साहुकहाँ पुर्याउँथे। भारी बोकेको ज्यालाले परिवारको छाक टार्न र एकसरो लगाउन पुग्थ्यो। तर, उनी अहिले गाउँमै ज्यालादारी काम गर्छन्। गाउँबस्तीमा सडकको पहँुच पुगेपछि उनी जस्ता भरिया पेशा परिवर्तन गरेर जीविका चलाउने धेरै छन्।
‘भारी नबोकी खान पाइन्नथ्यो, बजार पसलमा सामान किन्न बेच्न सकिँदैनथ्यो, साहुजीहरूले भरिया खोज्थे, भारी बोक्न जति पनि पाइन्थ्यो’ काजीमानले भने, ‘अचेल भारी बोक्छु भन्दा पाइँदैन, कसैले पत्याउलान् जस्तो पनि लाग्दैन, सबैतिर गाडी र ट्रयाक्टरले ओसार्छन्।’ भारी बोकेरै लामो समय घरव्यवहार चलाएका रामप्रसाद राई गाउँपालिका–६, बैकुण्ठेकी मेनुका रम्तेल पनि हिजोआज मजदुरी गर्छन्। ‘समय अनुसार चल्नै परेको छ, भारी बोक्न पाइएन भनेर एकठाँउ बसेर खान पाइँदैन, जसरी भएपनि पेट पाल्नै पर्यो, दुःखजिलो गर्नैपर्यो,’ उनले भनिन्। भरियाको पेशा पाउन छाडेकाले खेती किसानी र बनिबुतो गरेर घरव्यवहार धान्दै आएको उनी सुनाउँछिन्।
पौवादुङमा गाउँपालिका–४, वास्तिमका निरबहादुर प्रधान सडक आउनु अघिसम्म गाउँगाउँ भाँडाकुँडा डोकामा बोकेर बेच्थे। भारतको बिहार, सिक्किमदेखि तयारी भाँडा किनेर गाउँगाउँ बेचेरै उनको जिविकोपार्जन हुन्थ्यो। विकल्प कुनै नभएपछि उनी पेशा छाडेर खेतीकिसानीतिर लागे। भने, ‘भारी बोकेर गाउँगाउँ पुग्दा राम्रै ज्याला पाइन्थ्यो, घरमा नुन तेल, लत्ताकपडा राम्रै पुग्थ्यो, पछि मोटर चल्न थालेपछि यो पेशा हराएरै गयो।’
भरिया पेशाले जिविका चलाउने त्यसबेलाका प्रायजसो भरियाहरू अहिले वृद्धाअवस्थामा पुगेका छन्। खेती किसानी, ज्याला मजदुरीलाई निरन्तरता दिएका छन्। धेरैजसो रोजगार खोज्न अन्यत्र जाने र अधिकांश युवापुस्ता विदेश पलायन भएका छन्। अन्नपूर्णपोष्टबाट
Add Comment