कांग्रेसमा प्रश्न उठाउनेलाई निष्कासन गरिन्न: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेताहरूलाई खुलस्त प्रश्न गर्ने अधिकार रहेको स्पष्ट पारेका छन्। सल्यानमा शनिबार आयोजित पार्टी सभामा उनले पार्टीभित्र प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भएको बताउँदै, नेताविरुद्धको अनावश्यक आरोपको प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे।

‘कांग्रेस कुनै ‘बा’ को पार्टी होइन, जहाँ प्रश्न उठाउनेलाई निष्कासन गरिन्छ,’ थापाले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि प्रश्न उठाउने नेतालाई निष्कासन गरेको परिप्रेक्ष्यमा थापाले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रश्नको अधिकारमा अडिग रहेको बताए।

त्यस्तै, उनले मुलुकको परराष्ट्र नीति निर्माणका लागि पार्टीले पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याउँदै, सरकारमा रहेका र बाहिर रहेका दलहरूसँग छलफल गरी नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। थापाले अब बहसलाई समस्यामुखी होइन, समाधानमुखी बनाउनु पर्नेमा जोड दिए।