राजतन्त्र फाल्न हिंडेको माओवादी राजावादी कै सहयोगमा सरकारको नेतृत्वमा : माओवादी जनयुद्धको २७ वर्षे यात्रा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा सवैभन्दा कहाली लाग्दो अवस्थाबाट गुज्रिएर आएको तात्कालिन माओवादी यतिखेर सरकारको नेतृत्व गरिरहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा तेश्रो पटक सत्ता सम्हालिरहेका छन् । तर यो पाटीले २७ वर्ष अघि जनयुद्ध गर्दा वोकेको संकल्प र आम नागरिकहरुको अवस्था फेर्ने योजना भने सफल हुन सकेन । २ सय ४० बर्षसम्म वंशजका आधारमा चल्दै आएको राजतन्त्रका विपक्षमा उभिएको माओवादीले एउटा व्यवस्था परिवर्तन गर्न सफल भयो तर अवस्था भने परिवर्तन गर्न सकेन । एउटा राजा फालेर अहिले हजारौ राजा जन्माउने प्रयास भईरहको आरोप लागेको छ ।
जनयुद्धको जगमा नेपालमा व्यवस्था फेर्न सफल भएको तात्कालिन नेकपा माओवादी हाल केन्द्रनेपालमा गणतन्त्र स्थापना गर्न भन्दै २०५२ सालमा सशस्त्र जनयुद्ध शुरु गर्नुअगाडि २०५१ सालमा माओवादी पार्टी गठन भएको थियो ।
२०४० साल मंसिरमा निर्मल लामाको नेतृत्वमा नेकपा चौम (चौथो महाधिवेशन) राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समूह २०४६ सालको जनआन्दोलनमा संयुक्त रूपमा सहभागी भई संघर्षमा होमियो ।
पार्टी विभाजन गरी निर्मल लामाले नेकपा (चौम) गठन गरे पश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम पार्टीको महामन्त्री बने । २०४१ मंसिर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित गर्यो ।
२०४३ सालमा नेकपा मशालको तर्फबाट काठमाडौंमा प्रहरी बिटमा आक्रमण र पोस्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । यस घटनालाई सेक्टर काण्ड रुपमा परिभाषित गरे। सेक्टर काण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए ।
२०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास गर्यो । २०४५ सालयता प्रचण्ड पार्टीको नेतृत्वमा छन् । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण र्गयो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बनेको थियो ।
२०४९ सालमा वर्ग संघर्षको तयारी गर्ने बारेमा निर्मल लामाहरूसँग व्यापक बहस भयो, तर निर्मल लामाहरूले वैधानिक संघर्षलाई मुख्य माने । जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरू पार्टीबाट अलग भए । त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरू मिलेर २०५१ सालमा छुट्टै नेकपा एकता केन्द्र गठन गरे ।
प्रचण्डको नेतृत्वमा २०५१ साल फागुन २–४ मा तेस्रो विस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनीतीक तथा फौजी कार्यदिशा निर्माण गरे र पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी राखियो । २०५२ फागुन १ गते माओवादीले जनयुद्धको शुरुवात गर्यो । २०५७ माघ–फागुनमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् प्रचण्डपथलाई पार्टीको सिद्धान्त बनाउने निर्णय गरेको देखिन्छ ।
२०६२ असोजमा चुनवाङ बैठकपछि रणनीति बदल्दै माओवादीले राजतन्त्रविरुद्ध संसदवादी दलहरूसँग १२ बुँदे समझदारी र्गयो । २०६३ वैशाख ११ गते संसद पुनस्र्थापना गर्दै जनआन्दोलन सम्पन्न भएपछि माओवादी शान्ति प्रक्रियामा आयो । २०६४ भाद्रमा काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो ।
२०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ स्पष्ट बहुमत हासिल र्गयो । २०६५ श्रावण ३२ गते संसदबाट प्रचण्ड पहिलो पटक प्रधानमनत्री निर्वाचित भए । २०६५ पौष २९ गते माओवादीसंँग २०५१ सालमा छुट्टिएको नारायणकाजी समूहबीच पार्टी एकता हुन पुग्यो । एकतापश्चात पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो ।
२०६९ असारमा एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो । २०६९ माघमा भएको सातौं महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वा्चित गर्यो । २०७० मंसीर ४ मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीलाई झड्का लाग्यो । संविधान घोषणासँगै माओवादीको फूटको श्रृंखला जारी रह्यो ।
०७२ साल असोजमा उपाध्यक्ष डा। बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरे । २०७४ सालमा प्रतिनिधि सभाको चुनाव हुनुपूर्व मोहन वैद्य समूहबाट रामबहादुर थापा लगायतका नेताहरु पुनः मूलधारमै फर्किए । त्यसपछि एकिकृत पार्टीको नाम माओवादी केन्द्र राखियो । स्थानीय चुनावमा कतिपय स्थानमा कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी त्यति राम्रो परिणाम निकाल्न सकेन ।
तर पनि माओवादी कांग्रेससँग रहन सकेन । माओवादी र एमाले एकीकरण गरे । त्यो एकीकरण पनि लामो समय टिक्न सकेन । माओवादी २०७९ बैशाखको स्थानीय तहको निर्वाचन र आम निर्वाचनसम्म आईपुग्दा कांग्रेससँग सहकार्य गर्दै अगाडि बढ्यो । गठवन्धन सरकारमा सामेल भएर निर्वाचनमा उभिएको माओवादीले नयाँ सरकार निर्माणका समयमा कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गर्न पुग्यो । त्यही सहकार्य बमोजिम अहिले विचार, सिद्धान्त नमिल्ने राप्रपालाई समेत सरकारमा समावेश गरी प्रचण्ड ेतेश्रो पटक मुलुकको प्रधानमन्त्रीका रुपमा रहेका छन् । (विभिन्न श्रोतबाट संकलित)