विष्णुभक्त तारादेवी गुठीद्धारा कलाकार रामचन्द्र अधिकारीलाई सम्मान, मेनुकालाई छात्रबृत्ति प्रदान ।

काठमाडौं । वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुँयालको सम्झनामा स्थापित २५ हजार राशीको विष्णुभक्त रङ्गकर्मी सम्मान यस पटक वरिष्ठ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्धारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा कलाकार रामचन्द्र अधिकारीलाई सो सम्मान गरिएको हो ।

२०७३ साल पुस १९ गते सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले तयार गरेको नाटक यज्ञवल्क्यका राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुँयालको निधन भएको थियो ।

नाटकमा अभिनय गर्दा गर्दै मञ्चमा नै निधन हुनुभएका कलाकार विष्णु भक्त फुँयाल विश्व कै इतिहासमा पहिलो कलाकार रहनु भएको छ । त्यस अघि अभिनय गर्दा गर्दै सम्वाद दिने क्रममा नै कुनै पनि कलाकारको निधन भएको भेटिँदैन ।

करीव ४ दशकभन्दा बढी समय नेपाली रङ्गमञ्चमा विताउनु भएका कलाकार फुँयालको स्मृतिमा हरेक वर्ष वरिष्ठ कलाकारहरुलाई सम्मान गरिँदै आईरहेको छ । सोही क्रममा चार दशकदेखि नेपाली नाट्य एवं चलचित्र क्षेत्रमा क्रियाशील रहनु भएका कलाकार रामचन्द्र अधिकारीलाई सम्मान गरिएको हो । यस अघि सो सम्मानबाट राजेन्द्र गड्तौला, रमेश केसी मट्टारे, लक्ष्मण सिंह बस्नेत, पल्पसा डंगोल सम्मानित भईसक्नु भएको छ ।
हरेक वर्ष पुस १९ गते फुँयालको निधनकै दिन स्मृति सभा आयोजना गरी पुरस्कार दिँदै आएको छ । कार्यक्रममा फुँयालकी धर्मपत्नी तारा फुँयालको नाममा स्थापित तारादेवी नारी प्रतिभा पुरस्कार मेनुका कट्वालाई प्रदान गरिएको छ ।

सम्मान कार्यक्रममा गुठीका संरक्षक एवं फुयाँल छोरा विमल फुँयालले आफ्नो बुवाले कलाकारिता क्षेत्रका माध्यमबाट श्रमको सम्मान गर्न सिकाएको बताउनु भयो । उहाँले श्रमको सम्मान गर्नका लागि आफूहरु बुवाको आदर्शलाई निरन्तर अगाडि बढाउँदै जाने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा सम्मानित हुनु भएका कलाकार रामचन्द्र अधिकारीले विष्णुभक्त फँुँयालले आफूलाई चलचित्र बलिदानदेखि अन्य समयमा पनि अभिभावकत्व प्रदान गर्नु भएको स्मरण गर्दै र आफू अन्यायमा पर्दा सँधै अन्यायका विरुद्ध लड्न प्रेरित गर्नु भएको बताउनु भयो ।

त्यस्तै तारादेवी नारी प्रतिभा पुरस्कारबाट सम्मानित हुनु भएकी मेनुका कट्वालले आफूले अघिल्लो वर्ष गुठीबाट छात्रबृत्ति नपाएको भए पढाई नै छाड्नु पर्ने अवस्था भएको बताउनु हुँदै गुठीकै कारण शिक्षालाई अगाडि बढाउनु सफल भएको बताउनु भयो ।

कार्यक्रममा विष्णुभक्त फुँयालको नाट्य क्षेत्रको जीवनी, व्यक्तित्व र कृतिका विषयमा सोधकार्य गरिरहनु भएका सोधकर्ता लेखनाथ खनालले बाहिर नआएका तर अनुसन्धानमा फेला परेका कलाकारिता क्षेत्रमा योगदानका विषयमा चर्चा गर्नु भएको थियो ।स्मृति सभामा स्वर्गिय कलाकारद्धारा रचित गीत सहित सांगितिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।