प्रधानमन्त्री दाहालसँग रासस अध्यक्ष झासहितको टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताए । उनले भने, “राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ ।”

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताए । उनले भने, “राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ ।” टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी भएको थियो । रासस