८ करोड असूलेर सहकारीका अध्यक्ष फरार

काठमाडौं । अहिले ठगी, बेइमानी र लुटपाटका घटना बढीरहेका छन् । त्यस्तै पछिल्लो घटना हो  सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्थाको ठगीको ।

यस संस्थाका अध्यक्ष प्रभात पोख्रेलले तीन हजार बचतकर्ताबाट करिब ८ करोड उठाएर फरार भएका छन् । यो सहकारी संस्था २०७६ साउन ६ गतेबाट सञ्चालनमा आएको थियो । यस संस्थाका अध्यक्ष प्रभात पोखरेल हुन् । पोखरेल नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क मञ्चको सदस्य तथा उद्योग बाणिज्य विभाग सह संयोजक पनि हुन् ।

सहकारीमा सविता राई, सुशिल श्रीपाली, मुक्तिनाथ निरौला, प्रेम कुमार महर्जन, इन्दिरा बम्जन मोहित महर्जनलगायत सञ्चालक समिति सदस्य छन् ।

सहकारी समस्याग्रस्त बनेपछि अध्यक्ष पोखरेलसहित सबै सदस्यहरु र कर्मचारीहरु कार्यालय नै बन्द गरेर सम्पर्कविहिन भएका छन् । बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै काठमाडौ महानगर सहकारी विभागमा उजुरी दिएका छन् । सहकारी संस्थाको केन्द्रीय कार्यालय इन्द्रचोक र सदस्य सेवा केन्द्र नयाँ बसपार्क र कोटेश्वरमा छ । तीन वटै शाखामा करिब ३ हजार बचतकर्ता छन् ।

हाल नक्कली शरणार्थी प्रकरणको मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्व उप–प्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीले सहकारीको उद्घाटन गरेका थिए ।

त्यस्तै सहरकारीका अध्यक्ष पोखरेलविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको पीडितहरु बताउछन् ।

बचत फिर्ता माग्नेहरुसँग पोख्रेल कहिले विराटनगर, कहिले झापा छु भन्दै टार्दै आएका छन् । तीन हजार बचतकर्ताबाट करिब ८ करोड रुपैयाँ ठगी गरेको दावी गरिएको छ ।

यस सम्बन्धमा अध्यक्ष पोख्रेलले बचतकर्ताहरुलाई दिनु पर्ने बाँकी रकम ६ करोड मात्रै भएको बताए । उनले आफू भागेर नहिँडेको, सबैको रकम फिर्ता गर्न जग्गा बेच्ने प्रक्रियामा रहेको, साउनको पहिलो सातासम्ममा कार्यालय खोलेर काम गर्ने तयारी गरेको बताएका छन् ।

तर यता काठमाडौंको इन्द्रचोकमा भाडा पसलमा मजदूरी गर्दै आएका यी व्यक्ति हुन्, राम खत्री । इन्द्रचोकमा सुनौलो दियालो बचत तथा ऋण सहकारी संस्था खुल्ने वित्तिकै उनले ठूलो सपना बोकेर रकम जम्मा गरे । भाडा पसलमा उनको मासिक तलब २० हजार छ । त्यही पैसाले घरपरिवारको खर्च चलाउनु पर्ने बाध्यतामा उनी छन् । यहीबीच खाई नखाइ दैनिक २ सय ५० रुपैयाँ गरी १ लाख ५ हजार रुपैयाँ यस सहकारीमा जम्मा गरे । तर, विगत ९ महिनादेखि सहकारी सञ्चालक सम्पर्क विहिन छन् ।

सहकारीले पैसा डुबाइदिएपछि रामले आफ्नो छोरा छोरीलाई स्कुल भर्ना समेत गर्न पाएका छैनन । लमजुङका विमल न्यौपानेको पीडा पनि उस्तै छ । काठमाडौं नयाँ बसपार्कस्थित सुनौलो दियालो सहकारीमा विमलले पैसा जम्मा गर्दै आएका थिए ।

मोबाइल पसल सञ्चालन गर्दै आएका न्यौपानेले आफ्नो ६ महिनासम्मको बचत उक्त सहकारीमा जम्मा गरेका थिए ।

धेरै मितवययी भएर बचत गरेको ६ लाख ६० हजार रुपैयाँ लिएर सहकारीका सञ्चालक फरार भएका छन् ।

आफ्नै बचत रकम फिर्ता माग्न थालेको सात आठ महिना भइसकेको छ । तर उनले बचत रकम फिर्ता पाउन सकेका छैनन् ।

राम र विमल मात्रै हौइनन् । उनी जस्ता झण्डै ३ हजार बचतकर्ताहरु सुनौलो दियालो सहकारी संस्थाबाट ठगिएका छन् ।
-न्यूज २४