कञ्चनपुरका पूर्वएसपी डिल्लीराज विष्ट निलम्बित

काठमाडौं,९ भाद्र ।  बालिका निर्मला पन्त हत्या प्रकरणमा विवादित बनेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

गृह मन्त्रालयले हत्या घटनाको छानबिनमा विष्टले गरेको लापरवाहीबारे छानबिन गर्न उनलाई निलम्बन गरेको हो । मन्त्रालयमा शनिवार दिउँसोदेखि बसिरहेको बैठकले उनलाई निलम्बन गरेको छ । दिउँसो विष्टलाई विभागीय कारवाही गर्ने समाचार बाहिरिएका थिए ।

कञ्चनपुरका स्थानीय वासिन्दाले प्रहरी नेतृत्वमा रहेर विष्टले अनुसन्धानमा ढिलाइ गरेको, प्रमाण नष्ट गर्न भूमिका खेलेको लगायत आरोप लगाएका छन् । बलात्कारी र हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आन्दोलन चर्केर हिंसात्मक भएपछि सरकारले सक्रियता देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएपछि गृह मन्त्रालयमा प्रहरी अधिकारीलाई निलम्बन गर्ने विषयमा भएको थियो । हत्या घटना भएका बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेठी रहेका थिए ।

दुवैसहित प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएको सरकारले आन्दोलन साम्य नभएपछि कारवाही प्रक्रिया अगाडि बढाएको छ । आन्दोलन साम्य नभएपछि कञ्चनपुरमा कर्फ्यू लागिरहेको छ ।

कञ्चनपुरका आन्दोलनकारीले प्रहरी अधिकारीले नै छानबिन कमजोर बनाउने, प्रमाण नष्ट पार्ने र हत्यारा लुकाउन नक्कली अभियुक्त सार्वजनिक गरेको आरोप लगाएका छन् ।

गृह मन्त्रालयले भदौ ७ गते एसपी विष्ट, डीएसपी सेठी र प्रमुख जिल्ला अधिकारी खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।