ललिता निवास जग्गा प्रकरणकाे मुख्य दोषी किटान गर्न आट गरेन अख्तियारले

काठमाडौं, पुस । ललिता निवास जग्गा प्रकरणका दोषीलाई मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का लागि अझै तीन साता लाग्ने भएको छ । प्रहरीको सीआईबीले छानबिन प्रक्रिया पूरा नगरेका कारण अझै समय लाग्ने भएको हो । सीआईबीले पनि बालुवाटार जग्गा हिनामिना प्रकरणमा झन्डै ६० जनासँग बयान लिइसकेको छ ।

सीआईबीको म्याद २८ मंसिर २०७६ देखि लागू हुनेगरी २८ पुससम्मका लागि एक महिना थपिएको छ । तेस्रोपटक थपिएको म्याद गत २८ मंसिरमा सकिएको थियो ।

सीआईबीलाई ठगी आरोपमा सजाय माग गर्दै दोषीमाथि जिल्ला अदालतमा भिन्नै मुद्दा चलाउने अधिकार छ । सीआईबीले अनुसन्धान पूरा गरेर अब अर्को महिना मात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न सक्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ललिता निवास जग्गा प्रकरणको विषयमा आफ्नो छानबिन पूरा गरिसकेको छ । अख्तियारका एक अधिकारीका अनुसार मुद्दा चलाउने विषयमा आयोगमा छलफल भइरहेको छ । अझै केही समय छानबिन भइरहेकाले फाइल अध्ययन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी रहेको ती अधिकारीले बताए । तर, ककसलाई मुद्दा चलाउने भन्ने विषयमा आयोग अझै अलमलमा छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।