भ्रष्टाचार आरोपमा वीपी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार विरुद्ध मुद्दा दायर

काठमाडौं, पुस । विल भरपाई नराखी भौचरसमेत नउठाई रकम हिनामिना गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टान धरानका रजिष्ट्रार तुल बहादुर श्रेष्ठ सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सहितका कर्मचारीहरुको मिलेमतोमा प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा ५ लाख ५० हजार रुपैयाँ हिमानमिना गरेको देखिएकाले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख सिंघाची अग्रवाल, सिनियर क्लर्क चन्द्रकुमार मागर र रमेश कुमार खतिवडा समेतलाई आरोप ५ लाख ५० हजार विगो नै मागदावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाका अनुसार सरकारी रकम हिनामिना गरी निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले उक्त ऐनको दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१), सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी बिगो ५ लाख ५० हजार कायम गरी हानिनोक्सानी भएको उक्त रकम निजहरु तुल बहादुर श्रेष्ठ, रूपा सिंघान्ची अग्रवाल, चन्द्र कुमार मगर र रमेश कुमार खतिवडाबाट असुलउपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।