संसद् विघटनले जनता मतको अपमान: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उनले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटन संविधानको मर्म विपरीत भएको तर्क गर्दै सो कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । उनले सरकारको पछिल्लो कदम सच्चिनुपर्ने विचार व्यक्त गरे ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद् विघटन प्रजातन्त्र र संविधानको मूल्य मान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताए ।

संविधानसभा सदस्य डिकबहादुर लिम्बू र नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले वर्तमान अवस्थाबाट पार पाउन नेपाली कांग्रेले समयमै सही निर्णय लिनुपर्ने धारणा राखे ।