डोटीमा मतदाता बोकेको बस दुर्घटना, ३० जना घाइते

काठमाडौँ । डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा मतदाता बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना भएको छ । भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

मालीका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् । बसमा सवार यात्रुहरु निर्वाचनमा सहभागी हुन आ–आफ्नो गाउँ फर्किदै गर्दा बस दुर्घटनामा परी घाइते भएको भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये १६ जनाएको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको बताए ।

बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी भट्टले जानकारी दिए । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।