संसद पनि चल्न नदिने, सर्वदलीय बैठकमा पनि नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।

यसअघि अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भनिएकोमा पार्टी नै नजाने निर्णय भएको एमालेका कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

सभामुख सापकोटाको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुको बैठक दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्दैछ ।

सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई बैठकमा आउनका लागि पठाएको पत्र आइतबार नै बालकोट पुगेको थियो ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले सदर नगरेको विरोधमा नेकपा एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ।

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए। छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद अवरोध कायमै राख्ने अडान लिएको थियो। त्यसपछि सापकोटाले बैठक बोलाएका हुन्।