‘बजेट पास नभए केही दिन खर्च रोक्नुपर्ने अवस्था आउन सक्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट प्रतिस्थापन विधेयक पास नभए केही दिन खर्च गर्न रोक्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रतिस्थापन विधेयक पास भएन भने मुलुकको अर्थतन्त्र कसरी चल्छ? भन्ने पत्रकारको प्रश्नमा अर्थमन्त्री शर्माले सहमतिका लागि प्रयास भइरहेको र सहमति नभए प्रक्रिया पुर्‍याएर विधेयक पास गर्ने बताए।

उनले भने, ‘विधेयक पारित गर्न छलफल, वार्ता, सहमति हामी गरिराख्या छौँ। सहमति हुँदा हामी त्यसलाई सहमति अनुसार पारित गर्छौँ। नहुँदा नियमित प्रक्रया पुर्‍याएर पारित गर्छौँ। पारित गर्न केही समय ग्याप रह्यो भनेपनि केही समय खर्च गर्ने अवस्था नहुन पनि सक्छ। कर उठाउने विशेष व्यवस्था छ। त्यसअन्तर्गत कर उठिराख्छ। खर्च गर्नलाई पाँच सात दिन रोक्नु पर्ने अवस्था आयो भने रोकिन पनि सक्छ।’

यस्तै अर्थमन्त्री शर्माले अध्यादेशबाट प्रतिस्थापन विधेयक नआउने प्रष्ट पारे।

उनले भने, ‘सदन चलिरहेको छ। अध्यादेश आउँदैन। अदालतले अध्यादेशबाट विनियोजन विधेयक ल्याउनु हुँदैन भनेर प्रष्टै भनेको छ।’

मंगलबारको संसद बैठकबाट बजेटको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने अर्थमन्त्री शर्माको प्रस्ताव प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको बैठकबाट ध्वनी मतका आधारमा पारित गरिएको हो।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ। त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापनलाई विरोधकै बीच अघि बढाएको हो। यद्यपि प्रतिस्थापन विधेयक अब असोज ४ गतेको बैठकमा मात्र छलफलका लागि अघि बढाइनेछ।