काठमाडौंको बसन्तपुरमा भव्य रुपमा इन्द्रजात्राको तयारी दिउँसो २ बजे राष्ट्रपति पुग्ने

काठमाडौं । काठमाडौंको बसन्तपुरमा भव्य रुपमा इन्द्रजात्रा मनाउने तयारी गरिएको छ । राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्न दिउँसो २ बजे बसन्तपुर पुग्ने कार्यक्रम रहेको महानगरले जनाएको छ । त्यस्तै इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद्का सदस्यहरु, मुख्य सचिव, नेपाल सरकारका सचिवहरु लगायत उच्द पदस्थ पदाधिकारीहरु, नेपाल स्थित विदेशी राजदूतावासका राजदूत तथा प्रतिनिधि, उपत्यकामा सवै नगरपालिकाका प्रमुखहरु लगायत इन्द्रजात्रामा अवलोकनका लागि पुग्ने छन् ।
बर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँमा विशेष रुपमा मनाउने गरिन्छ भने ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि इन्द्रजात्रा मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको भनाई छ । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ ।

उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।