आफ्नै मेडिकलबाट लागूऔषध विक्री गरेको भन्दै रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ

फाईल तस्बिर

काठमाडौं । रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् । सांसद रहँदाखेरी नै आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि रास्वपाले कार्वाही गरी सांसदबाटै हटाईएका ढाकाकुमार यतिखेर भने उनले सञ्चालन गरेको मेडिकलबाट लागू औषधको कारोबार भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पोखरामा लागू औषधसहित पक्राउ परेका एक युवकले सो लागूऔषध ढाकाकुमार श्रेष्ठको औषधि पसलबाट खरिद गरेको बयान दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताएका छन् ।
३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका( ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।