पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा उफ्रिएको बताएका छन्।

सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी गरे।

अध्यक्ष नेपालले एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनु पर्‍यो भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘आज हामी सुनिरहेका छौँ– चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो। यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा?’

उनले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए।