धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।

तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै छात्राहरूले गुनासो गरेपछि तालिबानले उनीहरूलाई चाँडै विद्यालय बोलाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँकाे शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरूले चिन्ता व्यक्त गरेका छन् । सूचनामा हजारौँ छात्राको पढाइ तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरूलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए ।

शिक्षिका तथा छात्रालाई विद्यालय नबोलाइएको बारेमा विश्व समुदायले समेत चासो राखेपछि तालिबान उनीहरूलाई चाँडै बोलाउने प्रतिबद्धता जनाउन बाध्य भएको हो ।

संयुक्त राष्ट्र सङ्घीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धि भएको बताएका छन् । तर तालिबान समूहले छात्रालाई विद्यालय जान नदिएर ती उपलब्धि गुम्ने खतरा बढिरहेका बेला उसले बालिकाहरूलाई पनि चाँडै विद्यालय बोलाउने बताएको हो ।