कांग्रेसका दाइहरुको चुनाव केन्द्रित अभिव्यक्ति, एकल बहुमतको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिवद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गरेका छन्।

शनिबार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकीफुकी कदम चाल्नु परेको बताए।

उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको वैदेशिक सम्बन्धलाई सुमधुर बनाउँदै देश र जनताको हितमा काम गरिरहेको उनको दावी थियो।

सत्ता साझेदार दलहरुको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति, कार्यक्रम र लक्ष्यहरु हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै सहमहामन्त्री डा. महतले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह पनि गरे।

महतले क्रियाशील सदस्यहरु नै नेपाली कांग्रेस जग भएकोले निरन्तर सक्रिय रहन आग्रह पनि गरे।

उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले देशमा रहेका सबै जातजाति धर्म, संस्कृति, सभ्यता, पराम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने बताए।

उनले भने, ‘हजारौँ वर्षदेखि चल्दै आएको काठमाडौँको कला संस्कृति सभ्याता बिनाको नेपालको कल्पना गर्न सकिँदैन। त्यस्तै हजारौ वर्षदेखि मानिँदै आएका किराँत, थारु, गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, क्षेत्री, ब्राह्मण, मधेशी समुदाय सबैको धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन जरुरी छ।’

यसैगरी नेता गगन थापा, शशांक कोइराला र रामचन्द्र पौडेलले पनि कांग्रेसले बहुमत ल्याउने दाबी गरिरहेका छन् ।