सिके राउतको पार्टीले अख्तियार प्रांगण ढाकेपछि…

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारले गरेको अनियमितताको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउन भन्दै अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालय घेराउ गरेको छ। प्रदेश २ सरकारको मुख्यमन्त्री मो. लालबाबु राउतले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ तथा ‘मुख्यमन्त्री स्वच्छता अभियान’ मा व्यापक अनियमितता भएको भन्दै कारवाहीको माग गर्दै जनमत पार्टीले महोत्तरी स्थित अख्तियारको कार्यालय घेराउ गरेको हो।

‘अख्तियार ! होशियार ! भ्रष्टाचारी छाड्न पाइँदैन, साइकल चोर चाहिँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर’ भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए। सयौं जनमत पार्टीका नेता कार्यकर्ता सहित पुगेको मोटरसाइकल र्‍यालीले ‘मधेशी जनता के भन्छ, भ्रष्टाचारीलाई जेल दे भन्छ’ भन्दै नारा जुलुस लगाएका थिए।

‘अब कि बार–जनमत कि सरकार, जनता राज लायेंगे–भ्रष्टाचार मिटायेंगे, जन जन कि आवाज–लाउडस्पिकर छाप’ सहितको नारा लगाउँदै पार्टी कार्यकर्ताले मोटरसाइकल जुलुस निकाल्दै सरकारलाई भ्रष्टाचारीको संज्ञा सहित विरोध प्रदर्शन गरेको छ। यसैगरी जनकपुरधाम उप–महानगरपालिकाले ढल व्यवस्थापन, सडक व्यवस्थापन तथा छाडा गाईवस्तुको व्यवस्थापन गर्न नसकेको भन्दै ‘मेयर चोर कुर्सी छोड’ भन्दै विरोध प्रदर्शन गरेका थिए।

डा. सिके राउतले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अरु प्रदेशको कुरा त अहिले गर्दिनँ, तर अख्तियारले प्रदेश नं. २ को १३६ वटै स्थानीय तहमा छापा मारोस् र अनुसन्धान तथा कारवाही अगाडि बढाओस्। अख्तियारले भ्रष्टाचारीलाई कारवाहीको ग्यारेन्टी गर्नुपर्यो। केवल मनोरञ्जनका लागि राजनैतिक नाटक मञ्चन गर्नु भएन। यदि नाटक होइन भने अनुसन्धानका लागि अहिलेसम्म प्रदेशका मन्त्रीहरुलाई किन हिरासतमा लिइएको छैन ? किन उनीहरुलाई प्रमाण मास्ने छुट दिइँदैछ ?’