यो सरकार बार्टर सिस्टमबाट बनेको हो : ओली

झापा । गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन्।

बिहीबार झापामा आफैंले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको विषयमा घुमाउरो भाषामा व्यङ्ग्यसमेत गरे।

उनले हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताए।

उनले भने, ‘यो सरकार बार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो। पैसाको कारोबार भयो भएन थाहा छैन, बार्टर सिस्टमचाहिँ यसपटक देखियो।’

अहिलेको सरकारको लक्ष्य स्पष्ट नभएको भन्दै आफ्ना पार्टीबाट विजय भएका स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिहरूलाई विकासका कामलाई तीब्रता दिन आग्रह गरे।