बैंकहरू उड्दै गरेको प्लेनबाट झ्याल फोरेर हाम फाल्न खोजे : बमबहादुर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरूमा संयमता नदेखिँदा ब्याजदरको विषयमा राष्ट्र बैंक अगाडि सर्नुपरेको बताएका छन् । शक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १५औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले बैंकहरूमा धैर्यता नभएको बताएका हुन् ।

“२०७८ असारमा बेस रेटभन्दा तल लगानी गर्न पाउनुपर्‍यो भनेर माग गर्ने बैंकहरू ९० दिनमा नै कसले बढी ब्याज दिने भनेर प्रतिस्पर्धामा उत्रिए,” उनले भने, “उड्दै गरेको प्लेनबाट झ्याल फोरेर हाम फलिहाल्ने, कम्मरमा पेटी बाँध्ने धैर्यता पनि बैंकहरूमा देखिएन ।”

राष्ट्र बैंकले ब्याजदर कोरिडोरको ग्राफ हेर्दा ६ प्रतिशतको बचतको ब्याजदर एक महिनामै डेढ प्रतिशत र दुई महिना नपुग्दै डेढ प्रतिशतबाट ८ प्रतिशत पुगेको उनले बताए । ब्याजदरमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा रोक्न केन्द्रीय बैंकले १० प्रतिशतका दरले मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको उनले बताए । जसले गर्दा ब्याजदरमा स्थिरता हुने उनको विश्वास छ ।

उनले लघुवित्तले पनि कागजपत्र यताउता गरेर खराब कर्जा कम देखिएको स्वीकार गरेको बताए ।

कार्यक्रममा लघुवित्त कम्पनीले ७० अर्ब कर्जा ‘वाचलिस्ट’मा रहेको र राष्ट्र बैंकले कर्जा तिर्ने समय थप गर्न नदिँदा कर्मचारीले कागजपत्र यताउता गर्ने अवस्था आएको बताएका थिए ।

सोही प्रसंगमा मिश्रले भने, “तपाईंहरूले नै कागजपत्र यताउता नगरेको भएर खराब कर्जा २० प्रतिशत पुग्छ भन्ने स्वीकार गर्नुभयो यसले हाम्रो शंका पुष्टि भयो,” उनले भने, “यही जोखिम देखेर नै असल वर्गको कर्जामा पनि थप ०.३ प्रतिशत प्रोभिजन गर्न भनेको हो ।” 

उनले लघुवित्त र हाइड्रपावर उस्तै भएको पनि बताए । हाइड्रोपावरमा पीपीए दर फिक्स र लघुवित्तको १५ प्रतिशत ब्याजदर फिक्स भएको उनले बताए ।

उनले अहिले नै कर्जाको ब्याजदर बढेर धेरै माथि जाने अवस्था नरहेको भन्दै उद्योगी व्यवसायीलाई नआतिन आग्रह गरे । “आजको दिनमा पनि कर्जाको भारित औसत ब्याजदर ८.८९ प्रतिशत छ । कोभिड अगाडि ११.४५ प्रतिशत थियो,” उनले भने, “तरलता अभाव भयो भन्ने सुनिन्छ, तरलता अभाव छैन राष्ट्र बैंकले त्यो हुन दिँदैन । २० प्रतिशत लिक्विड एसेस्ट रहेको छ । तरलताले प्यानिक अवस्थामा छैन ।”

राष्ट्र बैंकका प्रवक्तासमेत रहेका नियमन विभाग प्रमुख देव ढकालले लघुवित्तलाई अहिलेको अवस्थामा नाफा केन्द्रितभन्दा पनि प्रोभिजन गरेर जोखिम घटाउन आग्रह गरे ।

“मुनाफा र व्यवसाय वृद्धिको पछाडिमात्रै लाग्ने भन्दा पनि संस्थाको स्ट्रेथन ख्याल गरौँ,” उनले भने, “ढाकछाप गर्ने भन्दा पनि बेलैमा प्रोभिजन गरेर जोखिम मिनिमाइज गर्दै जाऔँ, अहिले ढाकछोप गरेरपनि कुनै न कुनै समयमा त्यो बाहिर आउँछ नै ।”

यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गरिबी न्यूनीकरण गर्ने उद्देश्य पूरा गर्दै नाफा पनि कमाउँदै अगाडि बढ्ने सफलताको शुभकामना दिए । उनले पनि अहिले नाफाभन्दा पनि जोखिम हेरेर प्रोभिजन गरेर अगाडि बढ्नुपर्ने बताए । “खराब कर्जा समग्र बैंकिङ क्षेत्रकै समस्या हो । प्रोभिजन बढाएर नाफा क्यासआउट नगर्नेगरी नाफालाई बोनस सेयर दिएर संस्था बलियो बनाऔँ,” दाहालले भने, “नाफा केन्द्रित हुँदा सामाजिक उत्तरदायित्व भुल्न भएन लघुवित्तको उद्देश्य पनि सँगसँगै अगाडि बढाऔँ ।”

पूर्व लघुवित्तकर्मी तथा लघुवित्तविज्ञ रामचन्द्र जोशीले राष्ट्र बैंकले सीईओले कति खायो भन्ने मात्रै खोज्ने तर गरिबलाई कति लगानी गर्‍यो भनेर सुपरभिजन गर्न नसकेको बताए । नेपाल संघका निवर्तमान अध्यक्षसमेत रहेका जोशीले जबसम्म राष्ट्र बैंकले लघुवित्तले गरिबलाई कति लगानी गर्‍यो भनेर सुपरभिजन गर्दैन तबसम्म लघुवित्त उद्देश्य पूरा नहुने बताए ।

“लघुवित्तका सारथि विपन्न वर्ग नै हुन् । मध्यम वर्गलाई त गाउँ–गाउँमा बैंक फाइनान्नसको शाखा पुगेको छ उनीहरूले गर्छन्,” उनले भने, “विपन्नको सारथि बनेमा लघुवित्तको भविष्य रहन्छ र छ ।”

लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले अन्य वर्गका बैंक वित्तीय संस्था र लघुवित्तबीच भेदभावको आभाष भएको बताए । लघुवित्तले पटक–पटक माग गर्दा पनि सहुलियत कर्जा लघुवित्तका ऋणीले नपाएको उनको गुनासो थियो । “ठुला ऋणीले पाउने ब्याजदर अनुदानको सहुलियत कर्जा विपन्न वर्ग भनेको लघुवित्तका ऋणीलाई छैन । लघुवित्तको ६० प्रतिशत कर्जा कृषिमा केन्द्रित छ,” उनले भने, “लघुवित्तको ब्याज बढी भयो सस्तोमा देऊ भनेर भन्ने तर सहुलियत भएन ठुला ऋणीमा केन्द्रित छ ।”

संघको यही साधारणसभाले अगामी दुई वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष विजय लघुवित्तका वसन्त लम्साल र पूर्व उपाध्यक्ष लक्ष्मी लघुवित्तका प्रकाश राज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।