टेलिकमले लिमीमा पुरानो उपकरण पठाएका कारण नेटवर्कमा आएन

सिमकोट । हिमालपारिको गाउँ लिमीमा चार वर्षदेखि निर्माण भएर सुचारु हुनुपर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन।

पछिल्लो पटक अन्य टावरका लागि पूर्वाधार निर्माण भए पनि टेलिकमले आफूले गर्नुपर्ने कार्य टावरका लागि आवश्यक पर्ने छाता पुरानो दिँदा मोबाइल सेवा सञ्चालन हुन नसकेको हो।

नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले टेलिकमले पुरानो र काम नगर्ने छाता दिएकै कारण मोबाइल सेवा सुचारु हुन नसकेको जानकारी दिए। उनले टावर निर्माणका लागि काम गर्ने जिम्मा पाएको निर्माण कम्पनीले सबै सामान लिमीमा पुर्‍याएर जडान गरे पनि छाता पुरानो भएकै कारण काम अगाडि बढ्न नसकेको बताए।

उनले टेलिकमका कारण यसपालि लिमीवासीको मोबाइल सेवा सुचारु गर्ने सपना पूरा हुन नसकेको बताए।

मोबाइल टावरका लागि अन्य काम सबै पूरा भए पनि अन्त्यमा नेपाल टेलिकमले गर्नुपर्ने छाता र त्यसका लागि आवश्यक अन्य सामान गतिलो नदिएको उनले बताए । वडाध्यक्ष तामाङले यी सामानका लागि गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत टेलिकम काठमाडौं र क्षेत्रीय कार्यालय नेपालगञ्जमा जाँदा सरोकारवाला पक्ष नजवाफ भएको उनले बताए।

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सामान पुरानो भएर काम नलाग्ने भयो भन्दा उल्टै टेलिकमले अब जेठअगाडि काम गर्न नसकिने जवाफ दिएको बताए। उनले छाता ल्याउनका लागि गाउँपालिकाले निकै प्रयास गरे पनि सफल हुन नसकेको बताए। टावरका लागि आवश्यक पर्ने अन्य सामान नेपालगञ्जबाट जहाजमा सिमकोट र सिमकोटबाट पैदल र हेलिकोप्टरबाट लिमी पुर्‍याएर जडानसमेत सम्पन्न भइसकेको छ।

सोलार प्यानल, ब्याट्रीलगायत सामानलाई सिमकोटबाट १० टिप लिमी ढुवानी गाउँपालिकाको लगानीमा गर्नुपरेको थियो । अहिले छाताको कामबाहेक मोबाइल टावरका लागि आवश्यक पर्ने संरचनालाई दुई पटक प्राविधिक पुगेर सम्पन्न गरिसकेका छन्। दुई वटा भवन भने गत वर्ष नै निर्माण सम्पन्न भएका हुन्। लिमीमा सञ्चार सम्पर्कको माध्याम भनेकै वल्र्डलिंकको इन्टरनेट सेवा रहेको छ। त्यो पनि घाम लागेको समयमा मात्र सुचारु हुने गर्छ।