राप्रपामा पुरातन सोचाइलाई तोड्दै राजेन्द्र लिङ्देनले पाए अध्यक्षको जिम्मेवारी

काठमाडौं । राप्रपाल पुराना पञ्चहरुको मात्र पार्टी हो भन्ने सोचाईलाई भर्खरै सम्पन्न राप्रपाको महाधिवेशनले तोडिदिएको छ । महाधिवेशनबाट नयाँ नेतृत्वको अध्यक्षका रुपमा राजेन्द्र लिङ्देनले आफूलाई निर्वाचित गराउन सफल भएका छन् ।

निर्वाचत पश्चात शपथ ग्रहण गर्ने क्रममा उनले कमल थापा, पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी जस्ता नेताहरु आफ्नो अभिभावक भएको बताईरहँदा निवर्तमान अध्यक्ष कमल थापा भने कार्यक्रममा उपस्थिति नै भएनन् ।
नेपालको राजनीति इतिहासमा सायद राष्ट्रिय पार्टीका रुपमा रहेको दलमा जनजातीले नेतृत्व लिन पाएको यो पहिलो घटना नै होला । राप्रपामा बर्षौसम्मको एकलौटी शासन निर्वाचनले हल्लाईदिएको छ । निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राज संस्था र हिन्दुराज्यको विचारलाई अघि सार्लान् नसार्लान् त्यो भने हेर्न वाँकी नै छ ।


राप्रपाल अध्यक्ष लिङ्देनको इतिहास यस्तो छ
२०२२ साल भदौ २२ गते पाँचथरमा जन्मिएका लिङ्देन झापा क्षेत्र ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी नेपालको संघीय संसदमा राप्रपाबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन्। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनले वाम गठबन्धनको समेत साथ पाएका थिए।

झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उठ्दै गर्दा झापा ३ लिङ्देनलाई छाडिएको थियो। निर्वाचनमा एमालेसँग मत साटफेर गरेर विजयी भएका लिङ्देन त्यसपछि नेपालको केन्द्रीय राजनीतिमा छाएका हुन्। २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरुवात गरेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका थिए। त्यतिबेला उनी राप्रपा झापाको सचिवसमेत थिए। २०४७ सालमा उनी राप्रपा स्थापना हुँदा उनी जिल्ला सचिव भएका थिए।

राजाको प्रत्यक्ष शासनकाल हुँदा २०६१ सालमा उनी झापा जिल्ला विकास समितिको सभापतिमा चयन भएका थिए। उनी जिल्ला सभापतिको रुपमा २०६३ सालसम्म काम गरेका थिए। उनी त्यतिबेला पनि वडा अध्यक्षको रुपमा स्थानीय तहमा थिए।

राजतन्त्र हुँदासम्म झापामै केन्द्रित रहेर राजनीति गरेका लिङ्देन २०६६ सालमा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी यसअघिको कार्यकालमा राप्रपाको महामन्त्रीको रुपमा जिम्मेवारी थिए।