शेखर कोइराला भन्छन्,पार्टी र देश जोगाउन सभापतिमा उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवशेनमा पार्टी सभापतिका लागि मनोनयन दर्ता गराएका शेखर कोइरालाले पार्टी र देश जोगाउनका लागि आफूले सभापति पदमा उम्मेदारी दिएको बताएका छन् । पार्टीको जारी १४ औं महाधिवेशनमा कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताए। ५१ प्रतिशतभन्दा बढी युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाइ थियो।

नेता कोइरालाले भने,‘देशको अवस्था बेहाल छ। पार्टीको अवस्था लथालिंग छ। यो बेहाल अवस्थाबाट मुलुक र कांग्रेस पार्टीलाई जोगाउन पनि आफ्नो उम्मेदवारी आवश्यक भएकाले उम्मेदवारी दिएको हुँ, मनोनयन दर्ता पछि कोइरालाले सञ्चारकर्मीलाई बताए ।