बुटवलमा ९ वर्षका बालकको शंकास्पद मृत्यु, भएको के हो ?

बुटवल । रुपन्देहीको बुटवलमा ९ वर्षका एक बालकको शंकास्पद मृत्यु भएको छ।

बुटवल–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बुद्धनगरमा स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिई सञ्चालित चर्चमा बालकका बुवा रजत खड्गी प्रार्थना गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेको बताइएको छ ।

शनिबार मध्यान्ह बालकले आत्महत्या प्रयास गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो।

बुटवल उपमहानगरपालिका–११, बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको मृत्युु भएपछि स्थानीयले छानबिनको माग गरेका छन्। शनिबार ९ वर्षका बालक आरएस खड्गीले झुण्डिएर आत्महत्या गरेको विषयमा घटना रहस्यमय र शंकास्पद भन्दै छानबिनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताए।

घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप जानकारी प्राप्त हुने बताएको छ।