जनसङ्गठनलाई प्रभावकारी बनाउन एमालेको कार्यदल, विगतका पदाधिकारी के गर्लान् ?


काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रको पहिलो बैठकले जनसङ्गठन प्रभावकारी बनाउन सुझाव दिन कार्यदल गठन गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिको केन्द्रीय कमिटीको बैठकले गठन गरेको जनसङ्गठन संयन्त्रको आजको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुङ्गेल, विष्णु रिजाल र रचना खड्का रहेका छन् ।

कार्यदलले जनसङ्गठनका पदाधिकारी कति जना रहने ? जनसङ्गठनमा काम गर्नेहरूको पार्टीमा स्टाटस के हुने ? जनसङ्गठनबाट बिदा भएका पार्टी काममा पुगेका छैनन् भने कसरी पु¥याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेश गर्नेछ । संयन्त्रको आजको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए ।

विगतमा एमाले र माओवादी एकीकरण हुँदा एमाले निकट जनसंगठनमा बसेकाहरुलाई वेवास्ता गरेपछि धेरै जनसंगठनका पदाधिकारीहरु रुष्ट भएका थिए । जीवन भर जनसंगठनमा लागेर काम गर्दा पनि पार्टी सरकारका जाँदा समेत संगठनको विकासका लागि भन्दा पनि निहित स्वार्थपूर्ति गर्नेहरुले रजगज गरेका कारण पनि जनसंगठनका धेरै जसो पदाधिकारीहरु अहिले पनि मौन बसिरहेको देखिन्छ ।