कर छली मुद्दा देखाउने दाँत, किन हुँदै नै कार्वाही ?

काठमाडौं । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उक्ति नेपालमा चल्दै आएको छ । विशेष गरी कानून मिच्ने ओहोदामा बस्ने एवं सत्ताका झुण्डहरु लक्षित उक्ति आजसम्म निकै लागू हुने गर्दछ । विशेष गरी कर छलीमा झन् बढी यसको प्रभाव देखिन्छ । यसैका कारण पनि शक्ति र सत्ताकै आँडमा सरकारी सहुलियत लिई अत्याधिक मात्रामा कर छली हुँदै आए पनि सरकारी निकायको ढिलासुस्तीकै कारण नियन्त्रण हुनेभन्दा पनि झन् वृद्धि हुँदै गएको देखिन्छ । न्यून विजकीकरण, चोरीपैठारी र कर, राजस्वका साथै मूल्य अभिवृद्धि कर (भ्याट) को कारोबारमा नक्कली बिलमार्फत कर छली गर्दै आएको प्रमाणसहित राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरे पनि समयमा मुद्दा फैसला नहुँदा त्यसको फाइदा सम्बन्धित व्यक्ति तथा कम्पनीले उठाउँदै आएको छ ।

विभागले गत बैसाखमा २ अर्ब रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध मुद्दा चलाएको थियो । तर, सो मुद्दाका सम्बन्धमा के भइरहेको छ भन्ने अझैं जानकारी विभागलाई छैन र कहिले फैसला हुन्छ भन्ने पनि निश्चित छैन । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व छली गर्ने सर्लाही घर भई ललितपुर बस्दै आएका अनिल गुप्ता एण्ड एसोसियट्सका सञ्चालक अनिलकुमार गुप्ता तथा सोही जिल्ला घर भई काठमाडौं बस्ने अंकुश ट्रेड एन्ड सप्लायर्सका सञ्चालक प्रवीणकुमार महतोको नेतृत्वमा अर्बौँ रूपैयाँको राजस्व छली भएको ठहर गरी मुद्दा दायर गरिएको थियो ।

विभागले १६ प्रतिवादीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाउँदै उनीहरूले २ अर्ब १९ करोड ८८ लाख रूपैयाँ बिगो बराबरको राजस्व छली गरेकाले बिगो असुल गरी जरिबाना र कैद दाबी लिई मुद्दा दर्ता गरिएको थियो । उनीहरूले विभिन्न फर्मका नाममा बिक्री भएको भनी नक्कली तथा झुट्टा बिजक जारी गरी सो बमोजिमको रकम भुक्तानी लिई असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी छली गर्दै आएका छन् ।

प्रतिवादीले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, ०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड ९क०, ९ख०, र ९छ० बमोजिमको कसुर गरी राजस्व चुहावट गरेकाले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, ०५२ को दफा २९छ० बमोजिम राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ । राजस्व छलीमा गुप्ता र महतोसहित पर्साका रामचन्द्र माझी, भुलावन महरा चमार, दीपककुमार कायस्थ, वकिल देवान, अभिमन महतो, बाराका अकलीहजरा दुसाद, मुअन महरा, काठमाडौंका सरोज श्रेष्ठ, सञ्जय श्रेष्ठ, सर्लाहीका अञ्जु गुप्ता र वाणेश्वर महतो तथा उदयपुरका सरोज ढकाल, राधेश्यामप्रसाद साह, रत्नगोपाल श्रेष्ठ रहेको विभागको दाबी रहेका छ ।

यसैगरी, नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोबारबाट राजस्व र कर छली गरेको ठहर गरी मुद्दा दर्ता गरेको थियो । सो मुद्दा पनि फैसला हुन सकेको छैन । गत वर्षको ३ पुसमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बरुणले ६४ करोड ९६ लाख कर छली गरेकाले बिगो असुल गरी त्यसको दोब्बर जरिबाना र तीन वर्षको कैदको माग विभागको रहेको थियो ।

उक्त मुद्दामा सञ्चालक अमित गुप्तासहित सात प्रतिवादी बनाइएको छ । विभागले एक अर्ब ६० करोड रूपैयाँको त बैंक जमानत नै लिएको छ । विभागका अनुसार पहिचान भएका सयौँ फर्म र व्यक्तिको समेत हाल अनुसन्धान जारी रहेको जनाएको छ । अहिलेसम्मको मुद्दामा अदालतले कसैलाई पनि शुद्ध तारेखमा नछाडेकाले कैफियत छ भन्ने दाबी पुष्टि भए पनि फैसला भने हुन ढिलाइ हुँदै गएको छ ।

विभागले राजस्व चुहावटको कसुरमा गत वर्षमै ११ सरकारी कर्मचारीसहित ५ सय ६ लाई प्रतिवादी बनाएर विभागले मुद्दा चलाएको तथ्यांक रहे पनि सो मुद्दा दायर गरेको संख्या अहिले ठूलो संख्यामा वृद्धि हुन पुगेको छ । आरोपीमध्ये अधिकांश फरार सूचीमा रहेका छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० बिलरप्यान बिल, नक्कली बिजक बिक्री गरी राजस्व छल्नेदेखि नक्कली कारोबार गर्ने, अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुन्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोबार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह मुद्दा खेपिरहेका छन् ।

मजदूरलाई प्रलोभनमा पारी २४ फर्म खडा गरेर झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजस्व छली गर्नेमा जयकिशोर साह र परमेश्वर साहमाथि १ अर्ब ७५ करोड रूपैयाँ बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा गत वर्षको १९ पुसमा मुद्दा दायर गरिएको थियो । विभागका अनुसार हालसम्म विदेशी विनिमय अपचलनतर्फ ३१५ विरुद्ध रु। ४ अर्ब ८५ करोड र झुटा तथा नक्कली भ्याट बिलको सम्बन्धमा १३० विरुद्ध ६ अर्ब रूपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा चलाइएको छ ।

विभागले गत वर्षमा मात्र राजस्व चुहावटको कसुरका ६२ मुद्दामा १९८ विरुद्ध रु। ५ अर्ब ५२ करोड ५० लाखको बिगो कायम गरी बिगोको दोब्बर जरिबाना र तीन वर्ष कैद सजायको मागसहित मुद्दा दर्ता गरेको थियो । विदेशी विनिमय अपचलनतर्फ ८५ घटनामा रु। २६ करोड १८ लाख बिगो कायम गरी १३३ विरुद्ध मुद्दा चलाइएको छ, भने विभागले केही दिनअघि मात्रै काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेसनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठलाई विपक्ष बनाई मुद्दा दायर गरेको छ ।

जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर ७ सुनधारा स्थायी ठेगाना भएका आनसान इन्टरनेसनल प्रालिका लेखापरीक्षक तथा लेखापरीक्षण गर्ने फर्म राजेश्वर एन्ड कम्पनीका प्रोप्राइटर राजेश्वर श्रेष्ठले समेत सो छलीमा सहयोग पुर्‍याएको भन्दै मुद्दा दर्ता गराएको छ । उक्त फर्मले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको देखाई, अर्थात् कारोबार शून्य देखाई प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको ठहर विभागले गरेको छ ।

सो फर्मले आयकरतर्फ रु। ६८ करोड, ४८ लाख २६ हजार ९७ र लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ रूपैयाँसहित कुल बिगो रु। १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको छ । एकातर्फ विभागले मुद्दा दायर गर्दै जाने र अर्कोतर्फ सम्बन्धित निकायबाट समयमा फैसला नहुँदा अर्बौँ रूपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा हुन सकेको छैन ।