प्रभाव दैनिकका सम्पादक कमल राईको हृदयघातका कारण निधन

काठमाडौं । प्रभाव राष्ट्रिय दैनिकका सम्पादक कमल राईको विहिबार दिउँसो हृदयघातका कारण निधन भएको छ । केही दिन देखि सामान्य विरामी देखिएका राईलाई विहिबार निमोनियाको शंका लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विहान शिक्षण अस्पतालको आकस्मिक कक्षका उपचार गराईएका राईलाई भेण्टिलेटरमा राखी थप उपचार गर्नु पर्ने तर शिक्षण अस्पतालमा भेण्टिलेटर नभएको भन्दै नेपाल भारत मैत्री अस्पताल पठाइएको थियो । आफन्त तथा सहकर्मीहरुले शिक्षण अस्पतालबाट नेपाल भारत मैत्री अस्पताल पु¥याएको केही समयमा नै उनको हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको प्रभाव दैनिकका प्रवन्धक कृष्ण कार्कीले जानकारी दिए ।

केही दिन अघि प्रेस काउसिन्ल नेपालले पत्रपत्रिकाको बर्गिकरण गर्दा राईले सम्पादक भएको प्रभाव दैनिकलाई स्थगतमा राखेपछि उनी तनावमा रहेको कार्कीले जानकारी दिए । करीव दुइदशकदेखि पत्रकारितामा क्रियाशील राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्य समिति सदस्य समेत हुन् । ४५ वर्षिय राईका श्रीमती र आमा मात्र रहेको आफन्तले जनाएका छन् । राईको भोली शुक्रबार राई परम्परा अनुसार नै अन्त्येष्ठी गरिने जनाएको छ ।