एमसीसी छलफलका बेला अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भूसालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि हुने छलफलमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । ‘एसएमएसमार्फत सांसदहरुलाई निर्देशन दिइएको छ,’ उहाँले नेपालटीभीअनलाइन डट कमसँग भन्नुभयो, ‘महत्त्वपूर्ण विषयमा छलफल हुँदा सबैको उपस्थिति रहोस् भनेर निर्देशन दिने चलन नै छ ।’

हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा हुनुहुन्छ । दुई जना निलम्बित छन् ।