संस्कारमै भ्रष्टाचार रहेकाले निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउन आवश्यक

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अखख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको जानकारी दिएका छन् ।

विभिन्न किसिमको भ्रष्टाचार भईरहँदा विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भए पनि तीमध्ये सबैभन्दा माथि नैतिक शिक्षा भएकाले नैतिकरुपमा भ्रष्टाचार गर्नु नहुने भन्ने बोध नहुञ्जेल भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ भएको आयुक्त चन्दको भनाई रहेको छ । हाम्रो संस्कारमै भ्रष्टाचार रहेकाले त्यसलाई निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले सुझाव दिएका छन् ।

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, आयोगको जिल्लास्थित कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले प्रस्तुत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएकामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले टिप्पणी प्रस्तुत गरेको थियो । कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिकर्मी, सङ्घ, सङ्गठन, बुद्धीजीवी नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।