सङ्ग्रहायल निर्माण अझै अलपत्र

काठमार्डौ । बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावहुँदा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताएका छन् ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर स्थापना गर्न लागिएको सङ्ग्रहालयको काम अझै अधुरो छ । पाँच करोडमा सङ्ग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा सङ्ग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको रेशमराजले गुनासो गरेको छ ।

सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताएका छन् । सङ्ग्रहालय निर्माणका लागि थप रु पाँच करोड लाग्न सकने अनुमान छ ।

उक्त सङ्ग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको हुँदा अलपत्र परेको हो । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइएको हो । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइने सहकारीले योजना बनाएको थियो ।