फरार रहेकी माताङी अदालतमा पेस

काठमाण्डौ । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।

सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकामा सो नसाटिएपछि बैंकिङ कसुर गरेको ठहर भएको थियो । उनीलाई अदालतले पाँच दिन कैद र रु १९ लाख जरिवाना तोकेको थियो ।

कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकले उनीलाई रु १९ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो । फैसलापछि माताङी फरार थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्ने परिचालित टोलीले उनीलाई आज भक्तपुरबाट पक्राउ गरेको छ ।

माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिएका छन् ।