रामकुमारी झाँक्रीद्धारा प्रहरीलाई ट्राफिक व्यवस्थापन उपकरण हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा आज आयोजित एक समारोहमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीमार्फत महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई २० वटा ‘ह्विल लक’ र ८८ वटा ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।

सहरी विकासमन्त्री झाँक्रीले बढ्दो सवारी साधनका कारण भइरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनधिकृत पार्किङलाई निरूत्साहित एवम् नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताउनु भएको छ । झाँक्रीले ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै उक्त उपकरणहरूको समुचित प्रयोग हुने अपेक्षासमेत राखेको छ ।

महाशाखाका प्रमुख एसएसपी जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरु प्राप्तिमा मन्त्रालय तथा प्राधिकरणले गरेको पहल एवम् अग्रसरताप्रति आभार व्यक्त गरेका छन् । जोसीले हस्तान्तरण भएका उक्त उपकरणहरुले ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नाका साथै अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त एवम् प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।