स्थानीय निर्वाचनमा कल सेन्टर सञ्चालन सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० देखि हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । स्थानीय निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न सहज हुनेभएकाले कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी छ ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरेका छन् । कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिएका छन् । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने उद्देश्य लिएर आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दै आएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।

स्थानीय निर्वाचनमा सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सरलरुपमा जानकारी प्राप्त गरुन र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सकुन भनी आयोगले विशेष ध्यान पु¥याउँदै आएको थपलियाको भनाई रहेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सम्बोधन गर्न सुझाव दिएका छन् ।

यसअघिको निर्वाचनमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालन हुँदा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक भने चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको निर्वाचन आयुक्त थपलियाले बताएका छन् ।