राज्यलाई डेढ अर्व नोक्सान गरेको आरोपमा लुम्विनीका मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण कार्यमा घोटाला गर्ने प्रयास गरेको अभियोगमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीसँग नेकपा एमालेले राजीनामा मागेको छ । मुख्यमन्त्री केसीमाथि अस्पतालको १२ सय शय्याको, ७ अर्ब लागतमा निर्माण हुन लागेको १० तले भवनको टेन्डर प्रक्रियामै ‘सेटिङ’ गरेर राज्यलाई डेढ अर्ब नोक्सानी पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेशका इन्चार्ज एवं एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामै सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिका अध्यक्षले राजीनामा दिनु पर्ने बताएका छन् । उनलाई कुनै पनि हैसियतमा सरकारमा बसिरहने अधिकार छैन , भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङका मुख्य जिम्मेवार मुख्यमन्त्री कुलप्रसाद केसी नै हुनुहुन्छ भनी जोड दिएका छन् । मुख्यमन्त्री केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गरेकाले तत्काल राजीनामा माग्ने निर्णय गरेको लुम्बिनी प्रदेश सभा नेकपा एमालेको संसदीय दलले प्रष्ट्र बताएका छन् ।

मुख्यमन्त्री केसीकै संलग्नतामा अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा निश्चित निर्माण कम्पनीले मात्रै टेन्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गरेको एमालेको आरोप छ । स्पेसिफिकेसनमै ठेक्का प्रस्ताव गर्न ‘विदेशी निर्माण व्यवसायीले १० वर्षभित्र ६ हजार वर्गमिटर क्षेत्रफलको ३ अर्ब ७५ करोड बराबरको सरकारी अस्पताल निर्माण गरेको हुनुपर्ने’ मापदण्ड रहेको छ । जोइन्ट भेन्चर गर्ने नेपाली निर्माण कम्पनीले भने १० वर्षमा २ हजार वर्गमिटरभन्दा बढीको दुई तले बेसमेन्टको १ अर्ब ७५ करोड रुपैयाँ बराबरको सरकारी अस्पताल निर्माण गर्नुपर्ने थियो ।

२०५६ सालमा माओवादीबाटै प्राधिकरण प्रमुखमा नियुक्त भएका उनले पार्टीको आबद्धतासमेत त्यागेको घोषणा गरेका छन् । उनले ठेक्काका लागि सेटिङ मिलाएर राज्यलाई डेढ अर्ब नोक्सान गराउने प्रयास गरेको भन्दै सम्पूर्ण दोष मुख्यमन्त्री केसीलाई लगाएका छन् । निर्माण व्यवसायीको विरोध र सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले सोमबार ठेक्का रद्द गर्ने निर्णय गरेका थिए ।